बिर्तामोड, भदौ १८ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले आफ्नो स्थापना दिवस र साधारणसभाको अवसर पारेर तीज मनाएको छ ।
संस्थाकोे १३ औँ स्थापना दिवस तथा १२ औँ वार्षिक साधारणसभाको अवसरमा आज बिर्तामोडमा आयोजित कार्यक्रमका बीच सदस्यहरुले दर खादै छमछमी नाचेर तीजको शुभकामना आदानप्रदान गरे ।
संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापकहरुले सामुहिक रुपमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
संस्थाको संगठानिक प्रतिवेदन सहसचिव ज्योसना श्रेष्ठले र आर्थिक प्रतिवेदन सदस्य दिपा पोखरेलले प्रस्तुत गरेकी थिइन् ।
संस्थापकका तर्फबाट संस्थापक अध्यक्ष सावित्रा दाहाल र सदस्य कोपिला बस्नेतले संस्थाको स्थापना गर्दा गरेका संघर्षको सम्झना गर्दै आज नारी सञ्चार गृह आफ्नै पहिचान बनाउन सफल भएको सुनाइन् ।
संस्थाले ५० लाख रुपैयाँको लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा सबैको साथ, सहयोगले हालसम्म ४६ लाख रुपैयाँ पुगिसकेको र चाँडै लक्ष्य पूरा गर्ने अध्यक्ष गौतमले जानकारी गराइन् ।
कार्यक्रमको अवसरमा ज्योसना श्रेष्ठले महिला पत्रकारको लेखन क्षमताबृद्धिका लागि प्रोत्साहनस्वरुप पाँच हजार रुपैयाँ सदस्य विनिशा शर्मालाई प्रदान गरिन् ।
कार्यक्रममा पत्रकार सुब्रत न्यौपाने, राजेन्द्र गौतम, भूमिका लिम्बूले शुभकामना व्यक्त गरेका थिए । सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको स्वागत भारती राईले गरेकी थिइन् ।