बिर्तामोड, भदौ २३ । सामाजिक कार्यलाई निरन्तरता दिँदै झापा अर्जुनधारा-५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् ।
अर्जुनधारा ५ स्थित पानीकलमा रहेको बागेडाँगी सामुदायिक विकास केन्द्र अन्तरगतको ‘ज्येष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रम’ लाई सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले ३२ इन्चको स्मार्ट टेलिभिजन दिएका हुन् ।
गिरीले केही दिनअघि नै बुवाको मुख हेर्ने दिनको अवसर पारेर प्रदान गरेको एउटा स्मार्ट टिभी शनिबार उज्यालो कार्यक्रमका अध्यक्ष मेघराज चौहानलाई हस्तान्तरण गरेका हुन् ।
गिरीले ४ वर्ष अघिदेखि आफ्नो, श्रीमती मिनादेवी, छोरा पंकज र छोरी प्रकृतिको जन्मोत्सव साथै बैवाहिक वर्षगाँठको अवसर पारेर अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयर वितरण गर्दै आएका छन् । त्यस्तै आगामी असोजमा पनि छोराछोरीको जन्मोत्सवको अवसर पारेर २ जना अपाङ्गता भएकालाई व्हीलचेयर वितरण गर्ने गिरीले बताएका छन् ।
सोही कार्यक्रममाा स्थानीय इच्छामाया भुजेलले भवनका लागि एउटा विद्युतीय पंखा हस्तान्तरण गरेकी थिइन् । त्यहाँ हुने भजनकीर्तनका लागि वाद्यवादक सामग्री खरिदका लागि स्थानीयले सकेको आर्थिक सहयोगसमेत गरेका थिए । यसअघि मेघराज चौहान, तेजकुमार बुढाथोकी र पदमसिंह थापाले पनि एक-एक थान पंखा भवनलाई दिएका थिए ।