बिर्तामोड, भदौ २४ । भद्रपुरमा हुन गइरहेको दौड प्रतियोगितामा १२ वर्षमाथिका विद्यार्थीलाई सहभागी गराइने भएको छ ।
भद्रपुर नगरपालिकाअन्तर्गतका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक एवम शिक्षक प्रतिनिधि सम्मिलित आयोजक समितिसँगको आज बसेको समन्वय बैठकले त्यस्तो निर्णय गरेको हो ।
भद्रपुर वडा नम्बर–८ को आयोजनामा आगामी असोज १७ गते घटस्थापनाका दिन बिहान ७ बजे सगरमाथा चोकबाट प्रतियोगिता सुरू हुनेछ ।
भद्रपुर नगरबासी मात्र सहभागी हुन पाउने खुला प्रतियोगितामा एक विद्यालयबाट बढीमा ५० जना विद्यार्थीले भाग लिने जनाइएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ८.८ किलोमिटर र महिलातर्फ ६.१ किलोमिटर दूरी तय गरिएको छ । प्रतियोगीहरूले दौडनका लागि २५ रुपैयाँ सहभागिता शुल्क दिनुपर्नेछ ।
तर, विद्यार्थीहरूलाई निःशुल्क सहभागिता गराइने आयोजक समितिका संयोजक गौरव सुब्बा मनोजले जानकारी दिए ।
प्रतियोगिताको प्रथम पुरस्कार महिला पुरुष दुवैलाई ३१/३१ हजार, दोस्रो पुरस्कार २१/२१ हजार, तेस्रोलाई ११/११ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, चौथोलाई ५/५ हजार, पाँचौँलाई २/२ हजार, छैटौँलाई १५ सय र सातौँदेखि दसौँसम्मका १/१ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजन आफ्ना पिता प्रेमप्रसाद ढकालको स्मृतिमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष तथा उद्योगी दिपेश ढकालले गरेका छन् ।