बिर्तामोड, भदौ २४ । झापा शिवसताक्षीको दोमुखास्थित ड्याममा पौडी खेल्न गएका चारमध्ये दुईजना किशोर बेपत्ता भएका छन् ।
सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए । भद्रपुर ५ बस्ने १५ वर्षीय प्रदिप राई र १५ वर्षीय फिरु शेख बेपत्ता भएका हुन् ।
‘पौडी खेल्न चारजना पसेका थिए । दुईजना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सफल भएनन्’ फुयलले झापा टुडेसँग भने । बेपत्ता भएका दुई किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।
उनीहरूको खोजीका लागि स्थानीयबासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखा आइपुगेका छन् । उनीहरू दोमुखा ड्याममा पौडी खेल्दै थिए । यो समाचार तयार पार्दासम्म उनीहरूको अवस्था अज्ञात छ ।