बिर्तामोड, भदौ २६ । झापाको बिर्तामोड २ सोमबारेमा हुने फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
खेलमैदानमा आयोजित पत्रकार भेटघाट कार्यक्रमका बीच प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिता सोमबारे योङ स्टार फुटबल क्लबले आयोजना गर्न लागेको हो ।
जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ यही असोज ७ गतेदेखि १३ गतेसम्म आयोजना हुने आयोजक संस्थाका अध्यक्ष उमेश राईले जानकारी दिए ।
खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले राईले बताए ।
अनुमानित ६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको लागि ४ लाख रकम सहयोगस्वरुप प्राप्त भइसकेको र बाँकी रकम पनि उठ्ने क्रममा रहेको आयोजकले जनाएको छ ।
सोमबारे क्षेत्रमा बसोबास गर्ने हाल वैदेशिक रोजगारीमा रहेका युवाहरुले पठाएको आर्थिक सहयोगले प्रतियोगिता सुरु हुन लागेको अध्यक्ष राईले बताए ।
प्रतियोगिताको लागि १२ वटा फुटबल क्लबले नाम दर्ता गरिसकेको क्लबका सचिव माधव खरेलले जानकारी दिए ।
उनका अनुसार आयोजक, शनिश्चरे, राजगढ, अर्जुनधारा, जलथल, कनकाई, सैनिक बजार, शिवशताक्षी, चन्द्रगढी, घैलाडुब्बा, बुट्टाबारी र बिर्तामोडबाट आउने क्लबहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा विजयी हुने टिमलाई ५१ हजार र उपविजेतालाई २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल उपलब्ध गराउने बताइएको छ । अन्य छवटा विधाको पुरस्कार केही दिनभित्र तय गर्ने जनाइएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्थानीय सामाजिक अगुवा धर्म लक्सम्बा, क्लबका कोषाध्यक्ष बुद्धराज बेघा, स्थानीय टोल समिति अध्यक्ष बुद्धवीर राईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले समाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको फुटबल प्रतियोगिता गर्नको लागि आफ्नो व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्ने र यो प्रतियोगिता सम्पन्न गर्न सबै खेलप्रेमी समाजसेवी व्यक्तित्वले सहयोग गर्नेमा आशा गर्दै आर्थिक सहयोगका लागि अपिल समेत गरे ।