मेचीनगर, भदौ २६ । झापाको मेचीनगर-१४ की तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शङ्कास्पद मृत्यु भएको परिवारले जनाएको छ ।
अस्ट्रेलियाको सबैभन्दा ठुलो सहर सिड्नीदेखि केही दूरीमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको शव शङ्कास्पद अवस्थामा भेट्टाएको हो ।
दीक्षा एक दिनअघिदेखि सिड्नीको रक्डेलस्थित एभरेस्ट बुचरीमा ‘पार्ट टाइम’ काम गर्दै आएकी थिइन् । उनका पति रवि प्रसाईं सोही बुचरीको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् । अघिल्लो दिन रवि र दीक्षा सँगै ड्युटी गएर सँगै फर्केका थिए ।
आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउन्टर सोझै देखिन्थ्यो । अर्को दिन (८ सेप्टेम्बर) भदौ २३ गते ड्युटी समयमा काउन्टरमा दीक्षालाई नदेखेपछि रविले खोजीकार्य बढाएको उनको भनाइ छ ।
‘छोरी दीक्षा हराएकी रहिछ’, दीक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्, ‘अघिल्लो दिन गफ गरेकी छोरीलाई पटकपटक फोन गर्दा लागेन अनि ज्वाइँलाई गरेपछि मात्रै हराएको कुरा थाहा भएको थियो ।’
स्थानीय र रविले पत्नी नभेटिएपछि रविले खोजी गरिदिन प्रहरीलाई निवेदन गरेका थिए । अस्ट्रेलियाको ‘मिसिङ नोटिस’ सार्वजनिक भएपछि त्यहाँको समयानुसार ११ बजे पसलबाट निस्किएकी दीक्षालाई झन्डै २५ किलोमिटर दूरीमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शङ्कास्पद अवस्थामा मृत भेटिएको थियो ।
२७ वर्षकी दीक्षाको मृत्यु शङ्कास्पद र रहस्यमय रहेको परिवारले जनाएको छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भने पनि आत्महत्या दुरुत्साहनको कानुनी प्रक्रिया अघि बढाउने दीक्षाको माइती पक्षको भनाइ छ ।
घटनाको हुलियाको अवस्थापछि प्रहरीले मृत भनेको छ तर, दीक्षाको माइततिर ‘सुसाइड’ घटना हो भनेर खबर गरेपछि घटना शङ्कास्पद नै भएको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीको भनाइ छ ।
रविले २०८० असार २९ गते दीक्षासँग मागी बिहे गरेका थिए । बिहेपछि रविका लागि दीक्षा दोस्रो पत्नी बनिन् । बिहेपछि सिड्नीकै स्थायी बसोबास ‘पिआर कार्ड’ प्राप्त रवि अस्ट्रेलिया प्रस्थान गरेका थिए ।
अस्ट्रेलियाको पिआर कार्ड प्राप्त पहिलो पत्नीसँग सम्बन्धविच्छेद गरेर बसेका रवि र विदेशबाट नफर्केका पतिलाई सम्बन्धविच्छेद गरेर बसेकी दिक्षाबीच पारिवारिक माध्यमबाट मागी विवाह भएको थियो ।