२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मालपोतका कर्मचारीको ‘सेटिङ’ मा एउटा परिवारको जग्गा अर्को व्यक्तिमा नामसारी


बिर्तामोड, भदौ २९ । भूमिसुधार तथा मालपोत कार्यालय झापाले एउटा परिवारको जमिन अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको छ ।

अदालतको अंश मुद्दाको फैसलाविपरीत मालपोतले नामसारी गरेको हो । झापा जिल्ला अदालतले जग्गा जमिनको अंश छुट्याई मालपोत कार्यालयलाई समेत दाखिल खारेज दर्ता गरिदिने भनी गरेको लिखित निर्देशनविपरीत मालपोतका कर्मचारीले सो जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरिदिएका हुन् ।

घटना विवरणअनुसार साविक महेशपुर–१ हाल भद्रपुर–४ बस्ने श्यामबहादुर केसीले दुईवटा विवाह गरेका थिए । केसीका जेठी श्रीमती राधादेवी केसीका दुई छोराहरू मनोज र सरोज, छोरीहरू सरिता र पवित्रा रहेका छन् । कान्छी श्रीमती रेणुका केसीतर्फ एक मात्र छोरा सुरज रहेका छन् ।

श्रीमानसँग छुट्टिएर कान्छी श्रीमती रेणुका छोरासहित आफ्नै माइती घर गौरादहमा बस्दै आइरहेकी थिइन् । श्रीमान् श्यामबहादुरको मृत्युपछि रेणुकाले २०६७ सालमा जेठीपट्टिका सन्तानहरूलाई प्रतिवादी बनाएर अदालतमा अंश दाबीको मुद्दा दायर गरेकी थिइन् ।

२०७१ साल बैशाख २९ गते तत्कालीन जिल्ला न्यायाधीश रमेशकुमार खत्रीले उल्लेखित केसी परिवारको सम्पत्ति ६ भाग लगाई विवाह नभएका अंशियारको विवाह खर्च पर सारी यसबाट दुई भाग सम्पत्ति वादी रेणुकाले अंश पाउने फैसला सुनाएको थियो ।

अदालतले सोहीबमोजिम साविक गाविसहरू चारपाने, महेशपुर, चन्द्रगढी, हल्दिबारीका जमिनहरू २०७४ साल बैशाख २५ गते मालपोत कार्यालयलाई दाखिला खारेज गरिदिने सम्बन्धमा पत्राचार गरेको थियो ।

त्यसमध्ये साबिक चारपाने–३ रामचोकस्थित राजमार्गदेखि उत्तरतर्फको कित्ता नम्बर ६८१ को ३ कट्ठा १३ धुर जमिन बेचिएको मनोजकुमार केसीले बताए ।

सो जमिन कान्छी आमा रेणुका र भाइ सुरजको नाममा दर्ता भए पनि त्यसमा ६ भाग लाग्ने अदालतको फैसलामा उल्लेख भएको उनले बताए ।

नापी कार्यालयले २०७४ साल जेठ ३ गते सबै जमिनको कित्ताकाट गरी मालपोतमा पत्र पठाइसकेको थियो । नापीको कित्ता काटमा ६८१ लाई फोड गरी ६०१३ कित्तामा एक कट्ठा सवा ४ धुर (रेणुका र सुरज) र ६०१४ कित्तामा दुई कट्ठा पौने ८ धुर (सुरज केसी समेत) भनी उल्लेख छ ।

मालपोतले २०७९ फागुन २१ गते दाखिला खारेज सम्बन्धी टिप्पणी तथा आदेशमा कित्ता नम्बर ६०१३ र ६०१४ विवरण जग्गाधनी दर्ता स्रेस्ता उठाइसकेको थियो ।

जग्गाधनी दर्ता स्रेस्तासमेत कित्ता नम्बर ६०१४ को दुई कट्ठा पौने ८ धुर जमिन जेठीपट्टिका सन्तानको हुँदाहुँदै मालपोतले सो जमिन अनारमनी–३ की प्रियङ्का गोयलको नाममा २०८० मंसिर २४ गते नामसारी गरिदिएको प्रमाण भेटिएको छ ।

सो जमिन प्रियङ्कालाई रेणुका र उनका छोरा सुरजले पास गरिदिएका थिए । उनीहरूले प्रियङ्कालाई आफ्नो नाममा रहेका ६०१३ कित्तामा एक कट्ठा सवा ४ धुर जमिन पनि सोही बेला पास गरेका थिए ।

जमिनको राजीनामा पासमा तत्कालीन मालपोत अधिकृत दिपेन्द्र खत्रीको हस्ताक्षर रहेको छ । २ करोड २ लाख थैली राखिएको उक्त जग्गा राजीनामा पास गर्दा ६ लाख ६ हजार रुपैयाँ राजश्व बुझाएको देखिन्छ ।

मालपोतका कर्मचारीले जमिन फिर्ता हुने आश्वासन दिएको मनोजको भनाइ छ । भूमिसुधार तथा मालपोत कार्यालय प्रमुख शेरबहादुर भण्डारीले जमिन नामसारी भएको घटनाको बारेमा अधिकृत मोहन दर्जीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer