बिर्तामोड, भदौ २९ । झापाको भद्रपुरमा जारी पहिलो संस्करणको कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ ।
भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।
भोलि भदौ ३० गते बिहान सेमिफाइल र दिउँसो फाइनल हुनेछ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार खेल खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताअन्तर्गत खुला भेट्रान्स डबल्सको फाइनल प्रवेशका लागि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङको जोडीले चन्द्रकुवेर खापुङ र उत्तम सिंखडाको जोडीले सेमिफाइनलमा सामना गर्ने संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक दिपक घिमिरेले बताए ।
त्यस्तै, खुला डबल्सतर्फ संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीले मोरङका सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
तेह्रथुमका विवेक कन्दङवा रपाँचथरका नेल्सन राईको जोडीले पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडीसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ ।
प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने सचिव तीर्थ ढकालले जानकारी दिए ।
पहिलोपटक हुन लागेको प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको अध्यक्ष ढकालले जानकारी दिए ।