२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनालद्वारा सवा करोड हिनामिना


दमक, असोज ६ । झापा शिवसताक्षी–३ मा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सुमन खनालले बचतकर्ता र सेयर सदस्यहरूको नाममा जम्मा भएको रकम अपचलन गरेर सम्पर्कविहीन बनेका छन् ।

संस्थाका संस्थापक अध्यक्ष रहेका खनालले एक करोड ३८ लाख रुपैयाँ ठगी गरेको प्रतिवेदनले देखाएको छ । खनाल प्रदेशसभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।

उनले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

संस्थापक अध्यक्षबाट आर्थिक वर्ष २०७८–७९ सम्ममा ४४ लाख ३४ हजार १६७ ब्याज पाउनुपर्ने र आर्थिक वर्ष २०७९–८० मा १६ लाख ३१ हजार ३८७ रुपैयाँ ब्याज थप गरी ६० लाख ६६ हजार १९६ ब्याज पाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

‘आर्थिक वर्ष २०७८–७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३९४ रुपैयाँ पाउनुपर्ने देखिन्छ । साथै, आर्थिक वर्ष २०७९–८० को अन्त्यमा १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

अध्यक्ष खनालले आफ्नोे सेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको छ ।

उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको अध्ययन प्रतिवेदनले ठहर गरेको छ ।

प्रदेशसभा सदस्य खनालले २०७९ को मसिंरमा भएको प्रदेशसभा सदस्यको निर्वाचनताका सर्वसाधारणको सो रकम डुब्न नदिने र चुनाव जितेपछि सबै रकम फिर्ता गरिदिने प्रतिबद्धता गरेका थिए ।

तर, अझै रकम फिर्ता नपाएपछि सहकारीका पीडितहरुले स्थानीय सरकारदेखि जिल्ला प्रहरी कार्यालयसम्म उजुरी दिएका छन् ।

पीडितहरूले शिवसताक्षी नपरपालिकाको सहकारी शाखामा उजुरी दिएका र सोबारे छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालय झापालाई सिफारिस गरेको शाखा अधिकृत बद्री दाहालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयलाई छानबिनको सिफारिस गरिएसँगै सुमन भने मोबाइल ‘स्विच अफ’ गरेर सम्पर्कबाहिर बसेका बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले सो उजुरीको विषयमा छानबिन भइरहेको बताए ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा खनालले बिनाभौचर नै बचतकर्ताको २ लाख ६ हजार ८६८ रुपैयाँ निकालेका र बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, बचतकर्ता तथा कलेक्टरहरूबाट हिसाबभन्दा बढी सङ्कलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९–८० मा २ लाख ३६ हजार ८४० रुपैयाँ निकालेर अध्यक्ष आफैँले आफ्नो बचतखातामा जम्मा गरेको लगायतका विषय उल्लेख छ ।

आर्थिक वर्ष २०७८–७९ मा कृत्रिम ऋणी देखाएर रमेश अधिकारीको नाममा कीर्ते ऋण १ लाख ९१ हजार ८४९ रुपैयाँ पैसा आफैँ चलाएको पनि पाइएको एक अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३७७ रुपैयाँ नगद मौज्दात भएको दाबी गरे पनि उक्त रकम समेत अध्यक्ष खनालले व्यक्तिगत रूपमा चलाएका बताइएको छ ।

आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षण प्रतिवेदनमै संस्थाले लगानी गरेको रकमभन्दा ५ लाख ४९ हजार ५१२ रुपैयाँ ज्यादा लगानी रहेको भनी वित्तीय विवरण सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer