२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा बाढीले तीनवटा पुल र एउटा कल्भर्टमा क्षति


बिर्तामोड, असोज १२ । अविरल वर्षापछि खोलामा आएको बाढीले झापामा तीनवटा पुलमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाढीले अर्जुनधाराको बिरिङ नदीको पुल, झापा गाउँपालिकाको बिरिङ नदीको पुल र बाह्रदशीको अदुवा खोलाको काठे पुलमा क्षति पुर्‍याएको हो ।

शुक्रबार साँझ साढे ७ बजे वर्षाको कारणले झापा गाउँपालिका ५ पान्थापाडास्थिति बिरिङ नदीमा आएको बाढीले हुलाकी राजमार्ग जोड्ने पक्की पुलमा क्षति पुर्‍याएको छ ।

बाढीले पुलको पश्चिमपट्टिको १० मिटरजति भाग कटान गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

हाल हुलाकी राजमार्ग अवरुद्ध बनेको झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

११ वर्षपछि बनेको बिरिङ पुलमा बाढीले क्षति पुर्‍याएपछि फेरि त्यहाँका स्थानीय निराश बनेका छन् । उनीहरूले छिटोभन्दा छिटो पुल सञ्चालन गराउन माग गरेका छन् ।

त्यस्तै, अर्जुनधारा–खुदुनावारी जोड्ने बिरिङ पुल पूर्ण रुपमा क्षतिग्रस्त भएकाले हिजो रातिदेखि नै आवागमन बन्द गरिएको छ ।

यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पूरै क्षति पुगेको हो । पुलको दक्षिणपट्टिको अन्दाजी १० मिटर पुल बगाएको छ ।

बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा–७ को फूलमती टोल, मिलडाँडाको बाटो हुँदै यातायातका साधनहरू सञ्चालन भइरहेको डिएसपी चन्दले बताए ।

शुक्रबार राति ८ बजेर २० मिनेटको समयमा बाह्रदशी गाउँपालिका ३ कोनाबारीस्थित पूर्वपश्चिम जोड्ने अदुवा खोलामा रहेको काठको पुल क्षति पुर्‍याएको छ ।

खोलामा बढेको बहावका कारण काठको पुलको बीच भाग भाँचिएकोले आवागमन बन्द गरिएको छ । अहिले त्यहाँका स्थानीयहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् ।

मेची राजमार्गअन्तर्गत चाराआली केचना सडक खण्डमा पर्ने कल्भर्टमा क्षति पुगेको छ । खोलामा आएको बाढीले भद्रपुर-१ र कचनकवल-६ जोड्ने राजमार्ग रहेको कल्भर्टको दुवैतर्फ सामान्य क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer