२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईको बाढी घटेपछि झापा र गौरीगञ्जको जनजीवन सामान्यतर्फ


बिर्तामोड, असोज १३ । कनकाई नदीको बाढी बस्तीमा पसेपछि अस्तव्यस्त बनाएको झापा र गौरीगञ्ज गाउँपालिकाको जनजीवन सामान्य बन्दै गएको छ ।

त्यहाँ हिजो राति ११ बजेदेखि पानीको बहाव घट्न थालेपछि स्थानीयहरुलाई राहत मिलेको हो । कनकाईको बाढी घट्न थालेपछि त्यहाँको जनजीवन सामान्यीकरण बन्दै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

कनकाईको बाढीले बाँध भत्काउँदा गौरीगञ्ज–१ को ईश्वरबस्तीका ईश्वर माझीको सहित २१ घर डुबानमा परेको थियो ।

बाढी पसेर धेरै बस्तीका मानिस विस्थापित बन्न सक्ने देखेर राति नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीलाई तैनाथ राखिएको प्रहरी उपरीक्षक केसीले बताए ।

कनकाईको बहाव गौरीगञ्ज–१ को होकलबारीतिर बगिरहेको छ । होकलबारीमा करिब १२० घरधुरी रहेका छन् ।
हालसम्म कुनै घर डुबानमा नपरे पनि यसरी नै त्यसतर्फ खोला बगिरहने हो भने डुबान हुन सक्ने सम्भावना बढेर गएको छ ।

यसैबीच, कनकाईको बाढीले झापा गाउँपालिका वडा नम्बर १ र २ का आधा दर्जनभन्दा बढी बस्तीमा पानी पसेको थियो ।

मिलनबस्तीका २० परिवारलाई सितुमारी मनोज मित्तल प्राथमिक विद्यालयमा राति नै स्थानान्तरण गरिएको थियो । त्यस क्षेत्रमा पनि पानी घट्दै गएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer