२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

काबेली करिडोर प्रसारण लाइनका चार टावरमा क्षति


बिर्तामोड, असोज १३ । इलाम माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्‍याएको छ ।

बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालित आयोजनाको करिब १ सय ८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक १ सय ८० देखि १ सय ८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलाम गोदकबाट झापा दमक खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ ।

उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराइएको थियो । त्यहाँ प्रसारण लाइनको स्पान साढे ७ सय मिटर छ ।

चार टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्णक्षति पुर्‍याएको छ । यी दुइटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ ।

५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रिड महाशाखा टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षति जानकारी लिएको छ ।

महाशाखा प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताए ।

प्रमुख खड्काले काठमाडौँबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञ समूह तथा पाँचथरमा रहेको सर्भे टोली सोमबारसम्म फिल्डमा पुग्ने र अवलोकनपछि प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer