बिर्तामोड, असोज १४ । बिहीबार रातिबाट शनिबार साँझसम्म भएको अविरल वर्षाका कारण सडक विभागले करिब २ अर्बको भौतिक क्षति भएको प्रक्षेपण गरेको छ ।
विभागका सूचना अधिकारी इन्जिनियर अमित कुमार शर्माले पुलपुलेसो तथा अन्य इन्फ्रा–स्टक्चरसमेत गरेर झन्डै २ अर्बको क्षति भएको आँकलन गरिएको जानकारी दिए ।
११ वटा पुल बगे
सडक विभागको तथ्याङ्कअनुसार बाढीले देशभर ११ वटा पुल बगाएको छ । जसमा कल्भर्ट १, बेली ब्रिज २, आरसिसी सिम्प्ली सपोर्टेड ४, आरसिसी प्रेस्टेसेस २, अर्च १ र स्टिल ट्रुल प्रेस १ वटा रहेका छन् ।
बाढीले मध्यराजमार्ग चिया भञ्जाङ गणेश चोकको ओम खोला पुल, सोही स्थानको फलामे खोला पुल, नुवा खोला पुल र झापाको हुलाकी मार्गको बिरिङ खोला पुलमा क्षति पुगेको छ ।
इलामको हेवा खोलाले ब्रेली ब्रिज बगाएको छ भने धरानको हेवा खोला पुल, खाँदबारीको एकुवा खोला पुल, महेन्द्रनगरको सुधा खोला पुल र खुर्कोटको सुनकोशी पुलमा पूर्ण रूपमा क्षति पुगेको छ ।
इलामको राते खोलामा निर्माणाधीन पुल पनि बाढीले बगाएको छ । धरानको सुनकोशी नदीले निर्माणाधीन अर्च पुल बगाएको छ । सबैको पुनर्निर्माण तथा मर्मतका लागि गरेर झन्डै २ अर्ब लाग्ने बताइएको छ ।
७८८ सडक अवरुद्ध
सडक विभागको तथ्याङ्कनुसार अहिले ७८८ स्थानमा सडक अवरुद्ध छन् । बाटो पन्छाउने र वैकल्पिक बाटो खोज्ने प्रक्रिया भइरहेको सूचना अधिकारी शर्मा बताउँछन् । उनका अनुसार यातायात अवरुद्ध भएका कुल सडकहरूको संख्या ४२ रहेको छ ।
४०१ स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने यातायात अवरुद्ध रहेको स्थान ४७ वटा रहेको छ । हाल यातायात अवरुद्ध रहेको राजमार्ग १७ वटा रहेको छ ।