२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ४ फाइनलमा


बिर्तामोड, असोज २२ । टाइब्रेकरमा वडा नम्बर ३ लाई हाउँदै वडा नम्बर ४ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ३ र वडा नम्बर ४ बीच २–२ गोलको बराबरी भएको थियो ।

निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको थियो । टाइब्रेकरमा वडा नम्बर ४ भाग्यमानी सावित भयो । उसले वडा ३ लाई ५–४ गोल अन्तरले हरायो ।

खेलको प्लेयर अफ म्याच वडा नम्बर ४ का भूपेन लिम्बू भए । उनलाई समिति उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङ र प्रदेशसभा सदस्य गोपाल विश्वकर्माले नगद २ हजार र ट्रफी प्रदान गरे ।

पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समिति अध्यक्ष विकास गिरीले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् ।

विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।

Adv footer