२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चाडपर्वको मौका छोपेर अचाक्ली महँगियो बजार


बिर्तामोड, असोज २३ । चाडपर्वको मौका छोपेर व्यवसायीहरुले उपभोग्य वस्तुको मूल्यमा अत्यधिक वृद्धि गरेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका अधिकांश पसलमा उपभोक्ताहरुको ढाड सेक्नेगरी अत्यधिक मूल्यवृद्धि गरेको पाइएको हो ।

विपद र चाडपर्वको मौका भन्दै व्यवसायीहरुले कालोबजारी गरिरहे पनि सरोकारवाला निकाय मुकदर्शक बनेका छन् ।सरोकारवाला निकायले झारा टार्नेबाहेक केही नगरेको उपभोक्ताको गुनासो छ । चाडबाडको संघारमा अचाक्ली मूल्य बढाइँदासमेत नियन्त्रण गर्न प्रभावकारी कदम चालिएको छैन  ।

चाडपर्व र प्राकृतिक विपदभन्दा अगाडि सामान्य रहेको मूल्य हाल आएर १० देखि १०० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको हो ।

पहिला मनसुली चामल २० किलोको बोरा दुई हजार २०० मा पाइन्थ्यो भने हाल आएर दुई हजार ५५० कायम भएको छ । जुनेली चामल पहिलाको मूल्य दुई हजार ४०० रहेकोमा हालको मूल्य दुई हजार ५५०, जिरा मसिनो चामलको पहिलाको मूल्य दुई हजार रहेकोमा हाल दुई हजार १५० भएको छ ।

त्यस्तै, सेलो तेल एक हजार ९०० रहेकोमा हाल दुई हजार २०० र घैला तोरीको तेल दुई हजार १४० रहेकोमा अहिले दुई हजार ४५०, चिउरा प्रति २० केजीमा एक हजर २०० बाट बढाएर एक हजार ५०० पुर्याइएको छ ।

त्यस्तै, चाडपर्व नजिकिएसँगै हरियो सागसब्जीमा समेत दोब्बर मूल्यवृद्धि भएको छ । ५० देखि ७० रुपैयाँ पर्दै आएको टमाटरको भाउ अहिले बढेर १४० देखि १७० पर्न गएको छ ।

७० देखि ८० पर्दै आएको प्याजको मूल्य बढेर अहिले १२० देखि १३० सम्म पर्न थालेको छ । १०० मा पाउँदै आएको फूलकोभी अहिले बढेर १५० पुगेको छ । सय रुपैयाँ प्रतिकेजी पाउँदै गरेका सब्जीहरु २०० रुपैयाँभन्दा बढी मूल्य पर्न थालेको छ ।

सम्बन्धित निकायले चाडपर्व नजिकिएसँगै बजार अनुगमन गरे पनि प्रभावकारी रूपले अनुगमन नगर्दा विक्रेताहरुले मनोमानी ढंगले बेच्ने गरेको पाइएको हो । अधिकांश पसलमा हुनुपर्ने मूल्यसूची नराखेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer