बिर्तामोड, असोज २३ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले अन्तिम अवस्थामा पुगेको बच्चालाई उपचारपछि निको बनाई दिएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।
ज्वरो आएपछि आफ्नो एक महिनाको नानी उपचारका लागि बिर्ताामोडकै एक अस्पतालमा लगे पनि त्यहाँबाट भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ भन्दै दमक रेफर गरेको र त्यहाँ समेत भेन्टिलेटर नभएपछि चिल्ड्रेन अस्पताल ल्याएर उपचार सुरु गरेको मेचीनगर–३ बडाखालकी जमुना खत्रीले बताइन् ।
जमुना र रासा खत्रीका एक महिनाका सन्तान युनव खत्रीको अवस्था अत्यन्त जटिल रहेको उपचारमा संलग्न बालरोग विशेषज्ञ एवम् अस्पतालका एमडी रुपक आर्चायले बताए ।
उनले भने, बच्चाको अवस्था अत्यन्त जटिल थियो हामीले सबै परीक्षण गरेपछि बच्चामा मेनिन्जाइटिस भएको रहेछ । ज्वरो, खोकीसहित फोक्सोमा पानी जमेको अवस्थामा बच्चालाई हामीले विशेष निगरानीमा एनआइसियुमा राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आयो ।
बच्चाको मुटुमा दुईवटा प्वाल रहेको र हेमोग्लोबिन कम भएको तथा आन्तरिक रक्तश्राप समेत भइसकेको अवस्थामा रहेको र बच्चालाई अत्यन्त जटिल अवस्थामा ल्याए पनि आफूहरुले सफल उपचार गर्न सकेको भन्दै डा. आर्चायले खुसी व्यक्त गरे ।
गत असोज ७ गते भर्ना भएका बिरामी निको भएर घर जानुअघि उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिएका छन् । उनीहरुले बिर्तामोडमै विशेषज्ञ अस्पताल भए पनि केही अस्पतालले टाढाका अस्पताल रेफर गर्दा बच्चाहरुको ज्यान नै जोखिममा पर्ने भन्दै नवजात शिशु र बालकालिकाको परपर्दो अस्पताल बिर्तामोडको चिल्ड्रेन अस्पताल भएको भन्दै जमुनासहित उनकी दिदी सीतादेवी महत र श्रीमान रासा खत्रीले धन्यवाद दिए ।
यसैबीच, पाँचथरको फिदिमबाट यमकुमारी योङयाङले आफ्नो बच्चा जन्मिए पनि रोएनन् । त्यहाँको चिकित्सकहरुले ठिक हुन्छ भन्दै घर पठाए पनि बच्चामा समस्या बढेपछि उपचारका लागि फिदिम अस्पतालमा नै लगिन् ।
तर त्यहाँ पनि सम्भव नहुने भन्दै झापा पठाएपछि उनले बच्चा एञ्जल लिम्बूलाई लिएर चिल्ड्रेन अस्पताल ल्याइन् । नवजात शिशुले दूध खान छाडेको र अन्तिम अवस्थामा पुगे पनि चिकित्सकले उनको विशेष निगरानीमा उपचार सुरु गरेका थिए ।
नवजात शिशुको टाँउकोमा अक्सिजनको कमी भएका कारण बच्चा नर्मल डेलिभरी भए पनि नरोएको हो, उपचारमा संलग्न डा. आर्चायले भने, नानीलााई १२ दिनसम्म अक्सिजनमा राख्नुपर्यो, पाँच दिनपछि मात्रै बल्ल आमाको दूध खायो ।
असोज ७ गते नै भर्ना भएका बिरामी निको भएर घर फर्किएसँग आमाले खुसी व्यक्त गरिन् । मस्तिष्कमा अक्सिजनको कमी हुँदा बच्चाहरुमा गम्भीर समस्या हुने भएकाले उस्तो अवस्थामा विशेष ख्याल गर्नुपर्ने डा. आचार्यको भनाइ छ ।
उनले यस्तो अवस्थामा बच्चाको आँखा (आरओपी) ट्यामेज भएको तथा कानको नशाको बारेमा जाँच गर्नुपर्ने भएकाले बच्चालाई नियमित रुपमा फलोअप गर्नुपर्ने बताए ।
नवजात शिशु र बालबालिकाको उपचारमा विशेष ख्याल गर्नुपर्ने भएकाले सबै आमाबुबाहरुले आफ्नो नानीको स्वास्थ्यमा ध्यान दिनुपर्ने डा. आचार्यको भनाइ छ ।