२०८१ कार्तिक ३० शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

यो वर्षको हिउँदमा जाडो कम, वर्षा बढी हुने


बिर्तामोड, असोज २८ । यस वर्षको हिउँदयाम विगतको भन्दा न्यानो हुने भएको छ । वर्षा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयामको ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

विभागले यस वर्षको अक्टोबरदेखि डिसेम्बरसम्म (असोज १५ देखि पुस १५ गतेसम्म) को तीन महिनाको अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

‘यसको मतलब दिउँसो र राति दुवै समयको तापक्रम सरदरभन्दा बढी भई गर्मी हुने भनेको हो,’ विभागकी वरिष्ठ मौसमविद डक्टर इन्दिरा कँडेलले प्रस्ट्याइन् ।

अधिकतम तापक्रम दिउँसोमा र न्यूनतम तापक्रम रातिको समयमा मापन गरिन्छ ।

कोशी प्रदेशका मध्य भूभाग, मधेश प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका उत्तरी भूभागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना भने ३५ देखि ४५ प्रतिशत छ । बाँकी भूभागमा भने सदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यस्तो छ वर्षाको आँकलन

कोशी प्रदेश, बागमती, प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।

कोशी प्रदेशको दक्षिणी भाग, मधेश प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तरपश्चिमी भाग र गण्डकी प्रदेशको दक्षिण पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

कणाली प्रदेशको मध्य तथा उत्तरी भाग र सुदूरपश्चिमको उत्तरी भागमा सरदरभन्दा कम वर्ष हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

यो आँकलन गर्दा नेपालको अक्टुबरदेखि डिसेम्बरसम्मको अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो र हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था तथा अन्तरऋतु परिवर्तनका कारकहरुलाई समेत मध्यनजर गरिएको विभागले जनाएको छ ।

हाल प्रशान्त महासागरमा एन्सो तटस्थ अवस्थामा रहेको र डिसेम्बरसम्म लालिनाको अवस्था देखा पर्ने आँकलन वैज्ञानिकहरुले गरेका छन् ।

त्यसैगरी, हिन्द महासागरमा विकसित हुने दुई ध्रवीय सामुद्रिक तापक्रम सूचक हाल तटस्थ रहेको र आगामी डिसेम्बरसम्म तटस्थ नै रहने सम्भावना रहेको मौसमविदको भनाइ छ ।

यद्यपि ऋतु परिवर्तन हुने समयमा विद्यमान जलवायु प्रारुपहरुले यस्ता प्रणालीको शतप्रतिशत पूर्वानुमान गर्न भने नसक्ने मौसमविदहरु बताउँछन् ।


-अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer