बिर्तामोड, असोज ३० । झापामा प्रहरीका आश्रित परिवारहरूलाई सम्मान गर्दै ६९ औँ प्रहरी दिवस मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा एक कार्यक्रम आयोजना गरेर प्रहरीका आश्रित परिवारहरूलाई सम्मान गरिएको हो ।
त्यस्तै, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ । खेलकुदमा विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्तिनाथ पौडेल, सामुदायिक सेवा केन्द्र चन्द्रगढीका सचिव खड्गबहादुर बुढाथोकी, साना हात नेपालका अध्यक्ष विक्रम वाग्ले, मानवअधिकारका लागि एकल महिलाकी अध्यक्ष रेखा अधिकारी र इस्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सन्दीप राईलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
उनीहरुलाई प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले प्रशंसापत्र प्रदान गरेका थिए ।
त्यस्तै, यस वर्षको उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा प्रहरी निरीक्षक सन्तोष राई र प्रहरी सहायक हवल्दार उत्तम कटवाललाई पुरस्कृत गरिएको थियो ।
८५ वर्षमाथिका ज्येष्ठ पूर्वप्रहरी कर्मचारी हिक्मतबहादुर लामालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त कदरपत्र पूर्वप्रहरी सहायक निरीक्षक अमरबहादुर लिम्बूलाई प्रदान गरियो ।
लिम्बूले प्रहरी चौकी थेचुम्बु ताप्लेजुङको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए ।
कार्यक्रममा ६९ औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा पुरस्कार प्रदान गरिएको थियो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमसमेत भएको थियो । रक्तदानमा १५ जनाले रगत दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बास्तोला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्वप्रहरी संगठन झापाका मदनगोपाल सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले स्वागत गरेको कार्यक्रममा प्रहरी उपरीक्षक केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले गरेकी थिइन् ।