बिर्तामोड, कात्तिक १ । झापाको बिर्तामोड नगरपालिकाले विद्यार्थीहरुको पढाई बिग्रिनेगरी एक महिनाभन्दा बढी लामो दशैँ विदा दिएको छ ।
नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो । असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको दुई दिनपछि कात्तिक २५ गतेदेखि मात्र विद्यालयको पढाइ सुरु गर्नेगरी विदा दिइएको छ ।
जसबाट विद्यार्थीहरुको पढाई बिग्रिने भएको छ भने शिक्षकहरुले सबै चाडबाड आनन्दले मनाउन पाउने भएका छन् । हिउँदे र बर्खे विदा कट्टा गरेर एक महिने दशैँ विदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए ।
उनले प्याब्सन, एन प्याब्सन, शिक्षक महासंघलगायतका संघसंगठनको सल्लाहअनुसार नै सो विदा पारित गरिएको जानकारी दिए ।
यद्यपि, यो निर्णयबारे अभिभावकसँग सल्लाह नगरिएको बुझिएको छ । विदा अनावश्यक लामो दिएपछि छोराछोरीको पढाइमा असर पर्ने भन्दै अभिभावकहरु चिन्तित बनेका छन् ।
लामो समयसम्मको विदा दिँदा पढाई बिग्रिने भएकाले नचाहँदा नचाहँदै विदा दिनु परेको नगरपालिकाका एक अधिकृतले बताए ।
विद्यालयहरुले आआफ्नो शैक्षिक क्यालेन्डरमा एक महिने विदा उल्लेख गरेका थिएनन् । शैक्षिक क्यालेन्डरमा उल्लेख नगरिएको विदा दिन नमिल्ने भन्दै बिर्तामोडका केही संस्थागत विद्यालयहरुले नगरपालिकाको त्यस निर्णयलाई नमान्ने भएका छन् ।
बिर्तामोडका लिटल फ्लावर्स, वाल्मीकि, तक्षशिला, कञ्चनजंघा, कञ्चनलगायतका संस्थागत विद्यालयहरुले दशैँपछि पठनपाठन सुरु गर्ने जनाइएको छ ।