२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

काबेली प्रसारणलाइन तिहारअघि पुनर्निर्माण हुने


बिर्तामोड, कात्तिक ३ । इलामको माई खोलामा आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण थालिएको छ ।

विद्युत् प्राधिकरण र करिडोरमा जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा प्रसारणलाइन पुनर्निर्माणको काम सुरु गरेका हुन् । तिहारअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्राधिकरणले प्रसारणलाइन मर्मतका लागि आवश्यक पाटपुर्जा उपलब्ध गराउने र निजी क्षेत्रले श्रम लागतलगायतका खर्च व्यहोर्ने गरी काम अघि बढेको छ ।

गत १२ असोजमा माई खोलामा आएको बाढीले काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको माई १ र ७ धोद्रेबेँसीमा चारवटा टावरमा क्षति पुर्‍याएको थियो ।

ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० वटा जलविद्युत् आयोजनाहरूको करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुने प्रसारणलाइनमा क्षति पुगेपछि १२ असोजबाट ती आयोजनाहरूबाट विद्युत् उत्पादन बन्द छ ।

काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेँसीमा ५०, ५१, ५२ र ५३ नम्बरका टावरलाई माई खोलाको बाढीले क्षति पुर्‍याएको थियो ।

यसमध्ये पनि ५१ र ५२ नम्बर टावर पूर्ण रूपले क्षतिग्रस्त छन् । टावरको जग खन्ने र आवश्यक सम्पूर्ण पाटपुर्जाहरू निर्माणस्थलमा ढुवानी गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पुनर्निर्माणस्थलको अनुगमन गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer