२०८१ कार्तिक ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा १३ कम्पनीद्वारा सौर्य ऊर्जा उत्पादनको प्रस्ताव


तस्वीरः झापा इनर्जीले शिवसताक्षीमा सुरु गरेको सौर्य ऊर्जा उत्पादन ।

-विनिशा शर्मा
बिर्तामोड, कात्तिक ४ ।
झापामा १३ वटा कम्पनीले १४५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् ।
प्रस्ताव गरिएका अधिकांश प्लान्टहरु गौरादहको जुरोपानीमा छन् । त्यस्तै, धुलाबारी, बनियानी, घैलाडुब्बामा पनि प्लान्टका लागि प्रस्ताव गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले झापामा १४५ मेगावाट क्षमताका सौर्य ऊर्जा उत्पादन गर्नका लागि निजी क्षेत्रले गरेको प्राविधिक प्रस्ताव पारित गरेको छ ।

प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनाअनुसार झापाका चार स्थानको छनोट गर्दै उक्त आयोजनाहरूको प्राविधिक प्रस्ताव पारित गरेको हो ।

झापामा टाइम सोलार इनर्जीले बनियानी र धुलाबारीमा १०-१० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न प्रस्ताव गरेको छ ।

त्यस्तै, मेची रिन्युएवल इनर्जीले धुलाबारीमा, पूर्वाञ्चल ऊर्जा कम्पनीले जुरोपानीमा, मेची इनर्जीले धुलाबारीमा, माउन्टेन हाइड्रो नेपालले बनियानीमा १०-१० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न प्रस्ताव गरेका छन् ।

त्यस्तै, युनिभर्सल रिन्युएवल इनर्जीले बनियानीमा, नेक्स्ट इनर्जी कम्पनीले जुरोपानीमा, सारथी ग्रुप पावरले जुरोपानीमा, एडभान्टेज इन्टरनेसनलले बनियानीमा र काजीमान सोलारले घैलाडुब्बामा १०-१० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न प्रस्ताव गरेका छन् ।

त्यस्तै, अनारमनी सोलारले घैलाडुब्बामा छ मेगावाट, कनकाई इनर्जीले जुरोपानीमा एक, एक र आठ मेगावाट तथा इको सनपावर डेभलेपमेन्टले बनियाी र धुलाबारीमा ९.५-९.५ मेगावाटका सौर्य ऊर्जा उत्पादन गर्न प्रस्ताव गरेका छन् ।

प्राधिकरणले देशभरबाट ८५० मेगावाट क्षमता बराबरको सौर्य विद्युत् उत्पादन गर्नका लागि प्राविधिक र वित्तीय प्रस्ताव आह्वान गरेको थियो । सोअनुसार परेका प्रस्तावमध्ये झापाका १३ सौर्य ऊर्जा उत्पादक कम्पनीहरू प्राविधिक रूपमा छनोटमा परेका हुन् ।

यही कात्तिक ६ गते वित्तीय प्रस्तावका आधारमा कम्पनीको अन्तिम टुङ्गो लगाइने विद्युत् प्राधिकरणले जनाएको छ ।

त्यसपछि परियोजना निर्माणस्थलमा विस्तृत वातावरणीय परीक्षण (आइइइ) गर्न ६ महिना लाग्ने र त्यो रिपोर्ट स्वीकृत भएको १८ महिनामा आयोजना निर्माण सम्पन्न हुने लगानीकर्ता बताउँछन् ।

सौर्य ऊर्जामा लगानी गर्दा प्रतिमेगावाट ६ देखि ७ करोड रुपैयाँ लगानी आवश्यक पर्ने र जसमध्ये ६० देखि ७० प्रतिशत लगानी सोलर प्यानल खरिदमा खर्च हुने जनाइएको छ ।

विद्युत् प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँ ९४ पैसाभन्दा कम मूल्यमा विद्युत् बिक्री गर्ने उत्पादकलाई मात्रै अनुमति दिने प्रस्ताव गरेको छ ।

यसैबीच, झापामा यसअघि १० मेगावाट क्षमताको झापा इनर्जीले शिवसताक्षीमा गत पुसमा सौर्य ऊर्जा उत्पादन सुरु गरेको थियो ।

८१ करोड रुपैयाँको लगानीमा पाँच वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ बिघा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएर उत्पादन सुरु भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

हालसम्म नेपालमा २१ वटा सौर्य ऊर्जा परियोजना सञ्चालनमा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै क्षमता भनेको १० मेगावाट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer