बिर्तामोड, कात्तिक १० । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ ।
मोफसलको चर्चित फुटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृत दिएको हो ।
आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टिमको सहभागिता रहनेछ ।
२०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुनेगरी तयारी गरिने अध्यक्ष ढकालले बताए ।
झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने दोस्रो भद्रपुर झापा गोल्डकपमा नेपाल र सार्क मुलुकहरुका उत्कृष्ट टिमहरुको सहभागिता गराउन अधिकतम प्रयास गरिने अध्यक्ष ढकालले बताए ।
पहिलो संस्करणको प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी एफसीले जितेको थियो । मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको थियो ।