बिर्तामोड, कात्तिक १२ । दुवै मृगौला खराब भएर उपचार गर्दागर्दै सम्पत्ति सकिएर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् ।
झापाको मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन बचाइदिन देश तथा विदेशमा रहने सम्पूर्णमा आग्रह गरेका छन् ।
हाल अर्जुनधारा–४ समावेशी टोलको एक घरमा आश्रय लिएर परिवारसहित बस्दै आएका भारतीले सबैको सानो सहयोगले आफ्नो जीवन बच्ने भन्दै सहयोगको अपेक्षा गरेका हुन् ।
२०८० पुसमा उनको मृगौलामा खराबी आएको थाहा पाएको उनले जानकारी दिए । हाल भारती बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा हप्तामा दुईपटक डायोलोसिस गर्दै आएका छन् ।
डायोलोसिस निःशुल्क भए पनि रगत लिँदा र अन्य औषधि सेवन गर्न महिनाको २० हजार रुपैयाँजति खर्च हुने उनी बताउँछन् ।
भारती दम्पत्ती १७ वर्षीया छोरी र १५ वर्षीय छोराका साथमा समावेशी टोलको एक घरमा आश्रय लिएर बस्दै आएका छन् ।
उनको उपचारमा सहयोग गरी जीवन बचाइदिन भारती बन्धु एकता समाज नेपालका केन्द्रीय अध्यक्ष उमेश भारती र सचिव विमल भारतीले अनुरोध गरेका छन् ।
उनलाई सहयोग गर्नका लागि भक्तबहादुर भारतीको नाममा नेपाल बैंकमा रहेको खाता नम्बर ०५५०१००७६४०४४००००००१ मा सहयोग गर्न सकिनेछ ।