बिर्तामोड, कात्तिक १२ । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रिनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ ।
निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरूबाट २०७४ मा मेचीनगर १३ मा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा खरिद गरेको थियो ।
निगमले छ वर्षअघि खरिद गरेको जग्गा गत वर्ष नाप जाँच गर्दा दुई बिघा अपुग भएको थियो । खरिद गरेको क्षेत्रफल पु¥याउनका लागि निगमले नापी र प्रशासनको सहयोग लिएर छत्रबहादुर र उनको परिवारले भोगचलन गरिरहेको दुई बिघामा घेराबेरा गरेपछि जग्गा विवाद सुरु भएको हो ।
दुई बिघा जग्गा थप नगरी आफ्नो क्षेत्रफल नपुग्ने निगमको भनाइ छ भने बिक्री गरेको श्रेस्ताबाहिर गएर निगमले घेराबेरा गरेपछि आफ्नो जग्गा गुमेको कार्की परिवारको गुनासो छ ।
निगमले पाँच बिघा १५ कट्ठा जग्गा स्थानीय छत्रबहादुर कार्की र उनको परिवारका सदस्यहरूबाट खरिद गरेको थियो । कार्की परिवारले आफूले नबेचेको जग्गा पाँच वर्षपछि कब्जा गरेको भनेर निगमविरुद्ध झापा जिल्ला अदालतमा २०८० फागुन २० गते मुद्दा दर्ता गरेको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत चैत ६ गते जिल्ला न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले विवादमा परेको कित्ता नम्बर १४० र १२६६ को जग्गामा कुनै संरचना नबनाउनु भनेर निषेधाज्ञा आदेश जारी गरिसकेको छ ।
अदालतले निषेधाज्ञा जारी गरेका कारण निगमले त्यसपछि परियोजनाका काम अघि बढाएको छैन । परियोजनाअघि बढाउन खटिएका निगमका सञ्चालक समितिका सदस्यहरू र कर्मचारी मुद्दा तथा जग्गा नापजाँचको प्रक्रियामा व्यस्त छन् ।
नेपाल आयल निगमका सञ्चालक समिति सदस्य वीरेन्द्रबहादुर चन्दले राष्ट्रिय गौरवको आयोजना भएकाले परियोजनामा कुनै पक्षबाट पनि बाधा पुर्याउन नहुने धारणा राख्छन् ।
निगमका सहायक प्रबन्धक कपिलदेव भट्टले परियोजनास्थलमा सुरक्षा गार्ड बस्ने सानो संरचना मात्र बनाइएको र परियोजनाको प्रमुख चयन गर्न बाँकी रहेको जानकारी दिए ।
हाल निगमले परियोजनाका लागि चारजना सुरक्षा गार्ड र एकजना ओभरसियरलाई ज्यालादारीमा काम लगाएको छ ।
उनले सम्झौताबमोजिम इन्डियन आयल कर्पोरेसनले भारतको सिलिगुडीदेखि नेपालको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र चारआलीमा १९ हजार पाँच सय किलोलिटर भण्डारण क्षमताको ‘स्मार्ट भर्टिकल ट्याङ्की’ र अत्याधुनिक ग्रिन टर्मिनल निर्माण गर्ने बताए ।
ग्रिनफिल्ड टर्मिनलमा उच्चस्तरीय ल्याबसहितको अग्निसमन उपकरण जडित स्वचालित प्रणाली हुने र यसको निर्माण आगामी चार वर्ष छ महिनामा पूरा गरिने लक्ष्य रहेको उनले जानकारी दिए ।
परियोजनास्थल रहेको मेचीनगर–१३ का वडा अध्यक्ष कृष्णराज सिग्देलले हाल अदालतमा विचाराधीन रहेको जग्गा विवादको समाधान भएपछि राष्ट्रिय गौरवको परियोजनाको निर्माण द्रुत गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे ।