२०८१ कार्तिक २१ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

यु-१३ फुटबलमा हल्दिबारी र भद्रपुर ब्लेजर्स विजयी


भद्रपुर, कात्तिक २१ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा हल्दिबारी गाउँपालिका र भद्रपुर ब्लेजर्सले तीनतीन अंक सुरक्षित गरेका छन् ।

आज भएको पहिलो खेलमा हल्दिबारीले बिर्तामोडको न्यु स्टार क्लबमाथि शानदार जित दर्ता गर्दै लिग चरणमा सुखद सुरुवात गरेको छ । उसले न्यु स्टारलाई ४–१ गोल अन्तरले हरायो ।

खेलको नवौँ, १३ औँ र १८ औँ मिनेटमा हल्दिबारीका रोहित मगरले ह्याट्रिक पूरा गरे । त्यस्तै, ३८ औँ मिनेटमा अंकुश कार्कीले अर्को एक गोल थपे ।

न्यु स्टार क्लबका लागि दोस्रो मिनेटमा रजत राईले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि हल्दिबारीले चार गोल फर्काएपछि हार व्यहोर्न बाध्य भयो ।

खेलको प्लेयर अफ द म्याच हल्दिबारीका गोलकिपर लकेन मगर भए । उनलाई झापा जिल्ला फुटबल संघका कोषाध्यक्ष भुपेन लिम्बू, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मीन बस्नेतलगायतले नगद ५०० रुपैयाँ र ट्रफी प्रदान गरे ।

त्यस्तै, दोस्रो खेलमा भद्रपुर ब्लेजर्सले आदर्श मैदान एकाडेमी अफ स्पोटर्स बिर्तामोडलाई ३–१ गोल अन्तरले हराउँदै लिग चरणमा उत्कृष्ट सुरुवात गरेको छ । श्रीजल तामाङको ह्याट्रिक मद्दतमा भद्रपुरले स्पष्ट जित निकालेको थियो ।

खेलको पहिलो, १९ औँ र २२ औँ मिनेटमा भद्रपुरका तामाङले गोल गरेको थिए । आदर्शका दर्पण गुरुङले ४१ औँ मिनेटमा सान्त्वाना गोल फर्काए ।

खेलको प्लेयर अफ द म्याच ह्याट्रिककर्ता तामाङ भए । उनलाई राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र उपाध्यक्ष मनोज सुब्बाले नगद ५०० रुपैयाँ र ट्रफी प्रदान गरे ।

भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, आदर्श मैदान एकाडेमी अफ स्पोटर्स बिर्तामोड र भद्रपुर ब्लेजर्स एउटा समूूहमा छन् ।

त्यस्तै, विशालपुर फुटबल एकाडेमी पृथ्वीनगर, ध्रुवतारा एकाडेमी दमक, हल्दिबारी गाउँपालिका र न्यु स्टार क्लब खोपबाडी बिर्तामोड एउटा समूहमा छन् ।

प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक २६ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer