बिर्तामोड, कात्तिक २२ । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भइसक्दा सुन एकै दिन तोलामा ४ हजार रुपैयाँ घटेको छ ।
बिहीबार कारोबार मूल्य १ लाख ६४ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । झापामा भने ५०० रुपैयाँ बढी कायम हुने गरेको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला दुई हजार १५ रुपैयाँ रहेको चाँदी आज एक हजार ९६० मा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ ।
गत साता सुनको मूल्यले बढोत्तरीको कीर्तिमान कायम गर्दै तोलाको १ लाख ७० हजार ७०० रुपैयाँसम्म पुगेको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ ।