भद्रपुर, कात्तिक २५ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा आज दुई सेमिफाइनल खेल हुँदै छन् ।
हिजो भएको लिग चरणको अन्तिम खेलमा भद्रपुर ब्लेजर्स, हल्दिबारी गाउँपालिका र विशालपुर एकाडेमी पृथ्वीनगर सेमिफाइनल प्रवेश गरेका छन् ।
यसअघि काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अपराजित हुँदै लिग विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।
आज फाइनल प्रवेशका लागि हुने खेलमा समूह ए को विजेता काँकरभिट्टाले समूह बि को उपविजेता भद्रपुर ब्लेर्जसविरुद्ध खेल्नेछ ।
ब्लेजर्सले आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टरलाई बराबरीमा रोक्दै फाइनल यात्रा तय गरेको हो । खेलको प्लेयर अफ द म्याच आयोजकका प्रवेश राजवंशी भए ।
उनलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पुर्वअध्यक्ष टिकाराज ढकाल, भद्रपुर ५ का वडा अध्यक्ष बन्धु कार्की र पूर्वराष्ट्रिय खेलाडी पर्वत पाण्डे र हिम्मत पाण्डेकी आमा सीता पाण्डेले नगद ५०० र ट्रफी प्रदान गरे ।
त्यस्तै, हल्दिबारीले पृथ्वीनगरको विशालपुरको सामना गर्नेछ । विशालपुरले न्यु स्टार क्लब बिर्तामोडलाई लिग चरणको अन्तिम खेलमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
खेलको प्लेयर अफ द म्याच विशालपुरका रचित मगर भए । उनलाई प्रयोजक ऋषिकेश पराजुलीका बुवा विष्णुप्रसाद पराजुलीले नगद ५०० र ट्रफी प्रदान गरे ।
भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक २६ गते हुनेछ ।