भद्रपुर, कात्तिक २५ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत उपाधिका लागि विशालपुर एकाडेमी पृथ्वीनगर र भद्रपुर ब्लेजर्स खेल्ने भएका छन् ।
आज भएको सेमिफाइनल खेलमा विशालपुरले काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै फाइनल प्रवेश गरेको हो । त्यस्तै, भद्रपुर ब्लेजर्सले हल्दिबारी गाउँपालिकालाई पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
खेलको ४० औँ र ४७ औँ मिनेटमा विशालपुरका रचित मगरले गोल गरे । काँकरभिट्टाका लागि ५५ औँ मिनेटमा विपुल लिम्बूले सन्त्वाना गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच विशालपुरका रचित मगर भए । उनलाई झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र हल्दिबारी वडा नम्बर ४ का वडा अध्यक्ष शान्तकुमार थापाले नगद ५०० र ट्रफी प्रदान गरे ।
त्यस्तै, आजै भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर ब्लेजर्सका लागि नवौँ मिनेटमा युसोहाङ लिम्बू र ४३ औँ मिनेटमा मनकुमार लिम्बूले गोल गरे । खेलको ५८ औँ मिनेटमा भद्रपुरले उपहारस्वरुप एक गोल पायो ।
खेलको प्लेयर अफ द म्याच भद्रपुरका प्रतिक पाँचकोटी भए । उनलाई झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले मामा र व्यवसायी निरज पराजुलीले नगद ५०० र ट्रफी प्रदान गरे ।
भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक २६ गते हुनेछ ।