बिर्तामोड, कात्तिक २७ । एक दशकपछि अलैँचीको मूल्य प्रतिमन (४० केजी) करिब एक लाख हाराहारीमा पुगेको छ ।
झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २० हजारसम्म आएको थियो ।
यो सिजनको सुरुवातमै अलैँचीको मूल्य ९५ हजारदेखि एक लाख रुपैयाँ प्रतिमनसम्म कारोबार भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
‘सिजनको सुरुवातमै अलैँचीको मूल्य प्रतिमन ९५ हजारदेखि एक लाखसम्म पुगेको छ । यो एक दशकपछिको बढी मूल्य हो । यसले किसानमा उत्साह थपेको छ,’ अध्यक्ष भट्टराईले भने, ‘अलैँचीको मूल्य लयमा आउँदै छ । तर, यसै भन्नचाहिँ सकिँदैन । यद्यपि, यसपटक अलैँचीको मूल्य घट्नेभन्दा पनि बढ्ने नै देखिन्छ ।’
घट्दै उत्पादन
भारत र भुटानमा उत्पादन घटेका कारण अलैँचीको मूल्यवृद्धि भएको उनको भनाइ छ । यद्यपि, नेपालमा पनि अलैँचीको उत्पादन क्रमशः घट्दो छ ।
गत वर्ष अघिल्लो वर्षको भन्दा ५० प्रतिशत उत्पादन घटेर देशभर करिब पाँच हजार मेट्रिकटन मात्रै उत्पादन भएको उनले बताए । यसपटक पनि गत वर्षभन्दा २० देखि २५ प्रतिशत अलैँचीको उत्पादन घट्ने उनको अनुमान छ ।
जलवायु परिवर्तनले रोग देखापर्दा अलैँचीको उत्पादन घट्दो क्रममा रहेको उनले बताए । ‘सिँचाइका लागि अकासे पानीको भर पर्नुपर्छ । कुनै बेला आवश्यक पर्दा वर्षा हुँदैन,’ उनले भने । अलैँची उत्पादन भदौदेखि कात्तिक अन्तिमसम्म हुन्छ ।
नेपालको ५३ जिल्लामा अलैँचीको खेती विस्तार भइसकेको छ । नेपालमा उत्पादन हुने करिब ९९ प्रतिशत अलैँची पूर्वीनाका काँकरभिट्टाबाट भारतीय बजारसम्म पुग्ने गरेको छ ।
अलैँचीको कारोबार हुने हिसाबले झापाको बिर्तामोड नेपालकै प्रमुख व्यापारिक केन्द्र रहेको हो । पूर्वीनाका काँकरभिट्टाबाट निर्यात हुनेमध्ये सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने अलैँचीले पछिल्लो पाँच वर्षमा ३२ अर्ब विदेशी मुद्रा आर्जन गरिसकेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब ८९ करोड ७६ लाख ६ हजार रुपैयाँ विदेशी मुद्रा नेपाल भित्र्याइसकेको छ । असोज मसान्तसम्मको तीन महिनामा १५ लाख २५ हजार नौ सय ६० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।