
बिर्तामोड, कात्तिक २९ । बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको वासलात ३७ करोड ६१ लाख ५२ हजार २४ रूपैयाँ पुगेको छ ।
संस्थाको १४ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष देवी निरौला बस्नेतले प्रस्तुत गरेका प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी ६ करोड ६८ लाख १०० रूपैयाँ रहेको छ ।
चार हजार ५२६ जना शेयर सदस्य रहेको संस्थाको निक्षेप २६ करोड ५५ लाख ९२ हजार २६१ रूपैयाँ, लगानीमा रहेको ऋण २८ करोड ५१ लाख ९६ हजार ६०६ रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी कर्जा सहायक (केन्द्रीय कार्यालय) प्रकाश बराल, कार्यालय सहायक (धुलाबारी शाखा) चन्द्रकला बुढाथोकी, उत्कृष्ट बचतकर्ता विजय शाह, बन्टी अग्रवाल, प्रकाश प्रधान, अम्विकादेबी भण्डारी अधिकारी, उत्कृष्ट खुत्रुके बचतकर्ता दिव्यांशा मैनाली, सृजल अधिकारी, असल ऋणी भीमसागर पौडेल, फूलमाया दर्जी, श्याम प्रधान, भद्रादेवी सार्की, एसइइमा उत्कृष्ट अनुराग तिमल्सिना, सिमन यादवलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
संस्थाकी अध्यक्ष बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष देवीप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
लेखा सुपरीवेक्षण समितिका संयोजक श्यामबहादुर निरौलाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष छविरमण अधिकारी र ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमितिका संयोजक प्रेमबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य केशव बस्नेत, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक विवेक डाँगी, नयाँ उज्यालो साकोसकी अध्यक्ष सुष्मा भण्डारी पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराई र सहसचिव प्रेमप्रसाद अधिकारीले गरेका थिए ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    