२०८२ जेठ २७ मंगलबार
Jhapa Today
Adv top

झापामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम गरिने


बिर्तामोड, कात्तिक २९ । झापामा २३ हजार ९८८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार झापामा उनीहरुको संख्या निकालिएको हो ।

उनीहरुलाई लक्षित गर्दै झापामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम गरिने भएको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरु र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहकार्यमा कार्यक्रम हुनेछ ।

अपाङ्गता भएका व्यक्तिहरुको बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन निर्देशिका–२०७६ बमोजिम उक्त कार्यक्रम विस्तार भएको जिल्लाका स्थानीय तहहरुमा शिविरको आयोजना गर्न लागिएको हो ।

सबै स्थानीय तहको प्रत्येक वडामा आयोजना हुने शिविरमा मेडिकल अधिकृत, अप्थाल्मोलोजिस्ट/अप्थाल्मो टेक्निसियन (आँखा जाँच गर्न), अडियोलोजिस्ट/अडियमेट्रिस्ट (कान जाँच गर्ने), फिजियोथेरापिस्ट, क्लिनिकल साइकोलोजिस्ट लगायतका प्राविधिकहरुमार्फत स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई आवश्यक सहायक सामग्रीको नापजाँचलगायत अन्य आवश्यकताहरुको पहिचानसमेत गर्ने व्यवस्था रहेको छ ।

शिविरमा पहिचान भएका अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको आवश्यकताअनुसार स्वास्थ्योपचार, सहायक सामग्री, शिक्षा, जिविकोपार्जन, सामाजिकीकरण र सशक्तीकरणका क्षेत्रमा स्थानीय तहहरुले यस कार्यक्रममार्फत सहयोग गर्ने फाउन्डेसनका प्रदेश वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिए ।

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत मंसिर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिनेछ ।

शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना, परिचयपत्र वितरण गरिने वरिष्ठ कार्यक्रम व्यवस्थापक कोइरालाले बताए ।

फाउन्डेसनका जिल्ला संयोजक सञ्जय शर्मा, पालिका संयोजक सुरेन्द्र गिरी, सिबिआर अधिकृत स्नेहा खड्का लगायतले शिविरमा सहजीकरण गर्ने छन् ।

Adv footer