मेचीनगर, कात्तिक ३० । झापाको काँकरभिट्टा हुँदै मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने कारोबारीलाई शिकारी कुकुरको सहयोगमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले चारजना कारोबारीलाई हिजो पक्राउ गरेको हो । हिजो बिहान १०ः३० बजे मेचीनगर ६ मेचीपुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका नेसरु मियालाई पक्राउ गरिएको हो ।
मे. ६ प ६५१० नम्बरको स्कुटरमा रहेको मेचीनगर-१० धुलाबारीका ३३ वर्षीय उनले मलद्वारमा २.११ ग्राम ब्राउन सुगर लुकाएर ल्याएका थिए ।
सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी हवल्दार विशाल राईको कमाण्डमा जोजो नामको तालिमप्राप्त कुकुर र लागुऔषध अनुसन्धान ब्युरोका प्रहरीसहितको संयुक्त टोलीले मियालाई पक्राउ गरेको हो ।
त्यस्तै, हिजो दिउँसो ४ः१० बजे दमक-३ बस्ने २५ वर्षीय मनिषकुमार धिमाल र उनका साथी दमक ४ बस्ने २४ वर्षीय मनिष अधिकारी पक्राउ परेका छन् ।
शंका लागेर कुकुरद्वारा जाँच गर्दा धिमालले मलद्वारमा लुकाई ल्याएको ६.८४ ग्राम ब्राउन सुगर भेटिएको थियो ।
त्यस्तै, हिजो साँझ ५ बजे सोही स्थानमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मुगु खत्याड ७ बस्ने २२ वर्षीय हिराप्रसाद जैसी पनि मलद्वारमा ब्राउन सुगर ल्याउने क्रममा पक्राउ परेका छन् । उनीको साथबाट २ ग्राम ब्राउन सुगर भेटिएको छ ।
ब्राउन सुगरसहित पक्राउ पर्ने तीनैजनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज विष्टले बताए ।