बिर्तामोड, कात्तिक ३० । श्याम मुर्मु नायक बन्दा बिर्तामोड नगरपालिका झापाको खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
आज भएको तेस्रो क्वार्टर फाइनलमा गौरादह नगरपालिकालाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै बिर्तामोडले शानदार जित निकाल्यो ।
बिर्तामोडको जितमा मुर्मूले ह्याट्रिक पूरा गरे । उनले खेलको २१ औँ, पहिलो हाफको अतिरिक्त समय र ४७ औँ मिनेटमा गोल गरे ।
बिर्तामोडका लागि सनम भुजेल र सुजन लिम्बूले थप एकएक गोलको योग्दान दिए । पहिलो हाफको अतिरिक्त समयमा भुजेलले र खेलको ६१ औँ मिनेटमा लिम्बूले गोल गरे ।
अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलको प्लेयर अफ द म्याच मुर्मू भए ।
उनलाई बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र संग्रौला, प्रतियोगिताका संयोजक सीताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले उनलाई नगद ५ हजार र ट्रफी प्रदान गरे ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । गोल्डकपको फाइनल खेल मंसिर ५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६५५ रुपैयाँसहित ट्रफी तथा मेडल पाउनेछ ।