२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा पाँच करोड लगानीमा ‘एभरेस्ट शान’ को उत्पादन सुरु


बिर्तामोड, मंसिर ३ । झापाको बिर्तामोडमा पाँच करोड रुपैयाँको लागतमा अलैँचीजन्य मसलाको उत्पादन गर्ने उद्देश्यले नेपाल एभरेस्ट कार्डमम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालि सञ्चालनमा आएको छ ।

स्वदेशी कृषिजन्य उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले बिर्तामोड-४ मा उद्योग सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बीच कोशी प्रदेशका कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले उद्योगको उद्घाटन गरेका छन् ।

नगदेबाली र कालो सुनको उपनामले चिनिने अलैँचीको कारोबारमा देखिने समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।आफू अलैँची कृषकसमेत रहेको बताउँदै उनले सरकारले स्पष्ट नीति नबनाउँदा समस्या दोहोरिरहेको उल्लेख गरे ।

नेपाल एभरेस्ट कार्डमम प्रोडक्सनका अध्यक्ष ओमकृष्ण बिमलीले अलैँचीलाई प्रशोधन गरेर ‘एभरेस्ट शान’ ब्रान्डअन्तर्गत ३० प्रकारका मसलाजन्य उत्पादन गरिएको बताए ।

स्वदेशमै उपलब्ध मसलाजन्य कृषिवस्तु अलैँची, अदुवा, तेजपात, टिमुर लगायतको प्रयोग गरिएको बताउँदै उनले भने, “उद्योगमा ९५ प्रतिशत कच्चा पदार्थ स्वदेशी रहेको छ ।”

उत्पादित सामग्री बिक्रीका लागि युएईको दुबईमा बिक्री कक्ष स्थापना भइरहेको बताउँदै अध्यक्ष बिमलीले क्यानडामा समेत बिक्री कक्ष सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

उद्योगलाई यएसएआइडीको ट्रेड एन्ड कम्पोटिटिभनेस प्रोग्रामको सहयोगमा एनइसीले अत्याधुनिक मेसिन प्रदान गरेको छ ।
युएसआइडीका जेसन सुकले उन्नत प्रशोधन क्षमता गरिँदा नेपाली अलैँचीको बजारीकरणमा सहयोग मिल्ने बताए । उनले भने, “यसले नेपाली अलैँचीले अन्तर्राष्ट्रियस्तरमा वृद्धि र पहिचान बनाउनेछ ।”

कार्यक्रममा बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतरा प्रसाईं, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, व्यापार तथा निकासी प्रवर्धन केन्द्रका निर्देशक डक्टर शरदविक्रम राणाले शुभकामना मन्तव्य राखेका थिए ।

उद्योगकी निर्देशक पार्वता खरेल बिमलीले एभरेस्ट शान ब्रान्डमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुर्‍याउन आफूहरु लागिपरेको बताइन् । प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer