बिर्तामोड, मंसिर ५ । चौथो संस्करणको अन्तर झापा नगरपालिकास्तरीय फुटबल प्रतियोगिता खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ ।
फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो ।
उपाधिसँगै मेचीनगरले नगद १ लाख ११ हजार २११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको फाइनल खेलमा मेचीनगरका लागि जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६ औँ र ३६ औँ मिनेटमा गोल गरेका थिए ।
शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार र ट्रफी पुरस्कार पाए ।
मेचीनगरका विशाल दर्जी उत्कृष्ट डिफेन्डर, सनम भुजेल सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगितामा ७ गोल गरेका थिए ।
मेचीनगरका युवराज पुरी उत्कृष्ट गोलकिपर, सचिन्द्र धिमाल उत्कृष्ट प्रशिक्षक भए । त्यस्तै, आयोजक टिमका शौरव विक प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए । उनीहरु सबैले जनही नगद ७ हजार र ट्रफी पाए ।
फाइनल खेलमा नायक बनेका लक्षु थापाले बेस्ट प्लेयर अफ द फाइनलको पुरस्कार पाए । उनले नगद ५ हजार र ट्रफी हात पारे ।
विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई प्रतियोगिताका संयोजक सीताराम भट्टराई, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा १ का वडा अध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा २ का वडा अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङ, आर्थिक संयोजक डुण्डीराज गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न गोल्डकपको समापन समारोहमा खेल क्षेत्र र खुदुनाबारीको समग्र विकासका लागि योगदान पुर्याउने मदनविक्रम नेम्वाङ, कर्मेन्द्रविक्रम नेम्वाङ, राजेन्द्रबहादुर गौतम, गोविन्दराज काफ्ले र युवराज महतलाई सम्मान गरिएको थियो ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो ।