बिर्तामोड, मंसिर ६ । झापाको सदरमुकाम भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सुरु भएको छ ।
मङ्सिर ३ गतेदेखि भद्रपुर ६ नम्बर वडाबाट सुरु गरिएको शिविर वडा नम्बर १ र २ मा सम्पन्न भइसकेको छ । आज बिहीबार वडा नम्बर ३ मा शिविर सञ्चालन हुन लागेको नगरपालिकाले जनाएको छ ।
भद्रपुरमा करिब एक हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण गर्न लागेको जनाइएको छ ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, भद्रपुर नगरपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहयोगमा यो कार्यक्रम सुरु भएको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले बताए ।
शिविरमा पहिचान भएका अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता अनुसार स्वास्थ्योपचार, सहायक सामग्री, शिक्षा, जीविकोपार्जन, सामाजिकीकरण र सशक्तीकरणका क्षेत्रमा स्थानीय तहहरूले यस कार्यक्रममार्फत सहयोग गर्ने नगर प्रमुख पोखरेलले बताए ।
शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री, कृत्रिम हातखुट्टाको नाप जाँच, विद्यालय भर्ना, परिचय–पत्र वितरण गरिने उनको भनाई छ ।
नगरपालिकाले आयोजनामा यो पहिलो कार्यक्रम भएकोले यो शिविरमा अपाङ्गता भएका व्याक्तिहरु कोही छुट्न नहुने र छुटेपनि खबर गराएर सहभागी गराउनु पर्ने नगर उपप्रमुख राधा कार्कीले अपिल गरिन् ।
भद्रपुर-२ नम्बर वडाध्यक्ष राम कँडेलको अध्यक्षतामा भएको शिविरमा सामाजिक विकास समितिका संयोजक सीता गुरागाईँ, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य सामाजिक शाखाकी प्रमुख जीवनकला राउतले राखेकी थिइन् ।
जिल्लाका १५ पालिकाका १३१ वटै वडा यही आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालन हुन लागेको हो । नवजात शिशु तथा १० वर्षमुनिका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहेर लक्षित समूहलाई सेवा प्रदान गर्ने साथै सरकारी संरचनाको सुदृढीकरण गर्ने उद्देश्यले यो कार्यक्रम रहेको करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक सञ्जय शर्माले बताए।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा २३ हजार ९८८ जना अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रवाह गर्ने लक्ष्य छ । फाउन्डेसनले पालिकाहरूको वडा गत तथ्याङ्क सङ्कलन गरेअनुसार १६ हजार बढीलाई सेवा प्रदान गर्न योजना बनाएर शिविर सञ्चालन भइरहेको उनले बताए ।
Comments are closed