बिर्तामोड, मंसिर १० । आँखा उपचारमा नेपालमै चर्चित झापाको बिर्तामोडमा रहको मेची आँखा अस्पताल (संघ) मा कानको उपचार पनि हुने भएको छ ।
आज एक कार्यक्रमका बीच बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले अस्पताल परिसरमा कान जाँच कक्षको उद्घाटन गरिन् ।
२८ वर्षदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित अस्पतालमा कानको उपचार सेवा थपिएपछि सेवाग्राहीलाई अझ धेरै लाभ मिल्ने अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
उनले सर्वसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उद्देश्यले कानको उपचार सेवा थप गरिएको बताए । केही समयमै कानको शल्यक्रियासहितको उपचार सेवा पनि सुरु हुने अध्यक्ष गुरुङले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डक्टर पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताए । त्यस्तै, १ हजार जनामा ५२ जनामा कानको समस्या रहने गरेको उनले बताए ।
आँखा र कानको उपचार सम्बन्धित बिराम भएको हुनाले कानको उपचार सेवा थप गरिएको उनको भनाइ थियो ।
यसअघि कानको उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको उनले जानकारी दिए । अब दक्ष जनशक्तिको संलग्नतामा उपचार सेवा सुरु गरेपछि यो सेवा अस्पतालमै उपलब्ध हुने बताइएको छ ।
बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकीले आफ्नो वडामा रहेको अस्पतालले सुिवधा थप गर्नु वडाका लागि गौरवको कुरा भएको बताए । उनले अस्पतालले विपन्न समुदायका बिरामीका लागि उपचारको पहुँच पुर्याएकोमा प्रशंसा समेत गरे ।