बिर्तामोड, मंसिर १२ । नेपाल आयल निगमले भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन आयोजना हेर्ने जिम्मा इन्जिनियर सुरेन्द्र महतोलाई दिएको छ ।
महतो इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा कार्यरत छन् । निगममा १५ वर्षदेखि कार्यरत उनीसँग सिनामंगलमा रहेको हवाइ इन्धन डिपो प्रमुखका रुपमा अढाइ वर्ष काम गरेको अनुभव छ ।
महतोले आयोजना अगाडि बढाउने विषयमा निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) ले गठन गरेको समितिका सदस्यसँग छलफल गरिसकेका छन् । समितिमा निगमका चार र आइओसीका चार सदस्य छन् ।
सिलुगुडीदेखि चारआलीसम्म ५० किलोमिटर पाइपलाइन र चारआलीमा १८ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल बनाइनेछ ।
निगम र आइओसीबीच गत असोज १७ गते पाइपलाइन बनाउने सम्झौता भएको थियो । यी दुई आयोजनाका लागि भारतले १५ अर्ब रुपैयाँ अनुदान दिनेछ ।