
बिर्तामोड, मंसिर १५ । झापाको सताक्षीधाममा सतबीज छर्न गएकी एकजना श्रद्धालु महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई-४ की ४५ वर्षीया सरिता टुडूको रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रहरीले बिहान पौने १२ बजे सिकिस्त अवस्थामा भेट्टाएको थियो । उनी सताक्षीधाममा सतबीज छर्न आएको बताइएको छ । पितृहरूको नाममा सतबीज छरिसकेपछि उनले भुइँमा प्लास्टिक ओछ्याएर सहयोग मागेकी थिइन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दाताले केही नगद र अन्नपात सहयोग दिइरहेका थिए । ‘उनी सहयोग मागिरहेका बेला एक्कासि ढलेकी थिइन्,’ घटनाका प्रत्यक्षदर्शीले भने ।

भुइँमा ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, डाक्टरले मृत घोषणा गरेको बताइएको छ । ढलेको देखेपछि निकै ठुलो भीड लागेको थियो । भीडकै कारण उनले समयमा उपचार नपाएको बताइएको छ ।

ढलेको ठाउँदेखि अस्पतालसम्म जाने यातायातका साधन नहुँदा समयमै अस्पताल पुर्याउन नसकिएको एक रेडक्रसकर्मीले बताए ।