बिर्तामोड, मंसिर १८ । नेपाल औषधि व्यवसायी संघ झापा, मोरङ र सुनसरी शाखाका कार्यसमितिको संयुक्त बैठकले संघमा दर्ता भएका व्यवसायीलाई मात्र संघको लोगो प्रयोग गर्न दिने निर्णय गरेको छ ।
आज विराटनगरमा सम्पन्न तीन जिल्लाको बैठकले व्यवसायलाई मर्यादित बनाउन व्यवसायीहरुलाई संघमा आवद्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै, सरकार निकायसँग समन्वय तथा छलफलका लागि तीन जिल्लाको एउटा समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।
औषधि कम्पनीहरुलाई थोक व्यवासयीको तर्फबाट कुनै पनि पोस्ट डेटेड चेक (पिडिसी) जारी नगर्ने, तीन जिल्लाको थोक र खुद्रा उपसमिति चयन गर्ने, प्रत्येक ६-६ महिनामा आलोपालो संयुक्त जिल्ला कार्यसमितिको बैठक बस्ने निर्णय भएको छ ।
त्यस्तै, झापामा कार्यान्वयनमा आएको एनओसी तत्कालै मोरङ र सुनसरीमा बैठक बसेर कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।
मोरङ शाखा अध्यक्ष देशबन्धु ढकालको अध्यक्षतामा भएको संयुक्त बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य गौतम गुप्ता, सुनसरीका निवर्तमान अध्यक्ष रवीन्द्र घिमिरे, सुनसरी अध्यक्ष दिपेन्द्रकुमार शाह, झापा अध्यक्ष जीवनकुमार खड्का लगायतले सहभागी कार्यसमिति सदस्यहरुको जिज्ञासाको जवाफ दिएका थिए ।
मोरङका महासचिव अरुणकुमार ठाकुर ब्राह्मणले सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मीले स्वागत गरेको संयुक्त बैठकमा तीनवटै जिल्लाका कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।