दमक, मंसिर १९ । झापाको गौरीगञ्जमा स्कुल बसले ठक्कर दिँदा बुवाछोरा घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक गौरीगञ्ज आँपगाछी बस्ने १९ वर्षीय अन्वारीशकुमार राजवंशी र मोटरसाइकलमा पछाडि बसेका उनका बुवा ५५ वर्षीय फागु राजवंशी घाइते भएका हुन् ।
आज दिउँसो अन्दाजी ४ः३० बजे गौरीगञ्ज-२ बहुनटोलस्थित भित्री सडकखण्डमा तुलाचनबाट टटुवामारी चोकतर्फ जाँदै गरेको प्र १–०१–००१ क ९७८ नम्बरको देवकोटा बोर्डिङ स्कुलको बस र विपरित दिशाबाट आउँदै गरेको प्र–१–०१–०१६ प ५०६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
टाउको र दाहिने खुट्टामा चोट लागेका अन्वारीशकुमार सामान्य घाइते छन् भने फागुको अवस्था गम्भीर रहेको छ । दुवैजना घाइतेलाई गौरीगञ्ज आधारभूत अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि निम्स अस्पताल दमक रेफर गरिएको छ ।
बस र बस चालक गौरीगञ्ज-३ तेलगानी बस्ने ४१ वर्षीय एकराज कटुवाल इलाका प्रहरी कार्यालय गौरीगञ्ज र मोटरसाइकल प्रहरी चौकी कोरोबारीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।