
बिर्तामोड, मंसिर २० । निर्माण व्यवसायी संघ झापाको १६ औँ वार्षिक साधारणसभा तथा अधिवेशन पुसको तेस्रो साता बिर्तामोडमा हुने भएको छ ।
संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले संघको साधारणसभा तथा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको संघका महासचिव पुष्पराज निरौलाले जानकारी दिए ।
पुस २१ गते साधारणसभाको उद्घाटन तथा बन्द सत्र हुनेछ भने २२ गते कार्यसमिति चयनका लागि निर्वाचन हुने महासचिव निरौलाले बताए ।
अधिवेशनको प्रमुख अतिथिको रुपमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई निमन्त्रणा गरिएको छ ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायत केन्द्रीय नेतृत्वहहरुको उल्लेख्य सहभागिता रहनेछ ।
अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकोले झापाली निर्माण व्यवसायी माझ चुनावी चहलपहल पनि शुरु भइसकेको बुझिएको छ ।
संघले अधिवेशनमा सहभागिताका लागि संघमा दर्ता भएका सदस्य फर्महरुलाई पुस १५ गतेसम्ममा नवीकरण गर्न सूचित पनि गरिसकेको छ ।
यसपटक अधिवेशनमा ३५० को हाराहारीमा प्रतिनिधि सहभागी हुनसक्ने सम्भावना रहेको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।