बिर्तामोड, मंसिर २३ । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) बिहान झापासहितका तराईका केही स्थानमा हुस्सु लाग्ने जनाएको छ । देशभरको मौसम मुख्यता सफा रहनेछ ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।
साथै, गण्डकी बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागले सोमबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।