
बिर्तामोड, मंसिर २९ । दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् ।
आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति-३ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुने प्रतियोगिताको दोस्रो दिन बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ ।

त्यस्तै, माघ १२ गते कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्दा माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् ।
त्यस्तै, माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।
खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ दि म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ दि सिरिजलाई १३ हजार पुरस्कार दिइनेछ ।
यसअघि फागुन २ गतेदेखि १२ गतेसम्म भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको थियो ।
यसैबीच, प्रतियोगिताको दौरान भारतीय महिला टिम र नेपाली महिला टिमबीच दुई खेल हुनेछ ।
खेल तालिका सार्वजनिक कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष पर्शुराम चेम्जुङ, झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविण थापा, झापा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष मनेष दाहाल लगायतको उपस्थिति रहेको थियो ।
खेलकुदसँगै सामाजिक कार्यमा अग्रसर रहेको प्रतिष्ठानले गत वर्षमा गरेका कामको प्रतिवेदन अध्यक्ष प्रसाईंले कार्यक्रममा प्रस्तुत गरेका थिए ।