२०८१ मंसिर ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

निता भेटवाल स्मृति प्रतिष्ठानद्वारा निबन्ध प्रतियोगिताका विजेता पुरस्कृत


बिर्तामोड, मंसिर २९ । झापाको बिर्तामोड-१ मा रहेको निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

स्वर्गीय निता भेटवालका पिता तथा प्रतिष्ठानका संरक्षक विष्णुप्रसाद भेटवालले छोरीको अन्तिम इच्छाअनुरुप नै अतिविपन्न परिवारका छात्र तथा छात्राहरुको अध्ययनमा सहयोग गर्दै आएको बताए ।

प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश शीर्षक’ निबन्ध प्रतियोगिताका प्रतियोगीलाई आज ९शनिबार० बिर्तामोडमा नगदसहित सम्मान गरेको हो ।

प्रतियोगितामा प्रथम हुने देवी माध्यमिक विद्यालयकी छात्रा ज्योति ढुङ्गेल, दोस्रो हुने मोहनमाया माविकी छात्रा एलिना तिम्सिना र तेस्रो हुने शनिश्चरे माविकी छात्रा सन्ध्या खतिवडालाई प्रतिष्ठानले सम्मान गरेको छ ।

उनीहरुलाई क्रमशः ७० हजार, ५० हजार र ३० नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै, छात्रा निर्जला आचार्य, दीप्ति सुवेदी, तृया सापकोटा, सुस्मिता खतिवडा, आशिका संग्रौला र छात्र सौगात खनाल र रोहन सुनुवारलाई नगद ७ हजारसहित सान्त्वना पुरस्कारका साथ सम्मानपत्रले सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीलगायतले सम्मान गरेका थिए ।

स्वागत तथा औचित्यमाथि प्रतिष्ठानका अध्यक्ष ओलीले पारेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव माधव विद्रोहीले गरेका थिए ।

प्रतिष्ठानका संरक्षक भेटवालले आमाबुवा नभएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्नेसमेत बताएका छन् । उनले विपन्न परिवारका पढ्न चाहेर पनि नसकेका विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन सहयोग साथै अगाडि पढ्ने भए थप समन्वय गर्ने र गरिँदै आएको समेत उनले बताएका छन् ।

ब्रेन ट्युमरका कारण अकालमा ज्यान गुमाएकी छोरीको स्मृतिमा उनका बुवाआमाले प्रतिष्ठान स्थापना गरेका हुन् ।

प्रतिष्ठानको सहयोगमा बिर्तामोड–७ स्थित भुसाबारीमा रहेको बेल्स मोडल स्कुलमा १० जना विद्यार्थी अध्ययनरत रहेको सोही विद्यालयका प्रिन्सिपल तारा प्रसाईंले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, परिवारका सदस्य अमरदीप भेटवाललगायतले आआफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer