बिर्तामोड, पुस ५ । सामाजिक र धार्मिक कार्यमा सक्रिय तुलसादेवी ओलीले विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेकी छन् ।
झापाको शिवसताक्षी-४ सालमाराका १३० जना विद्यार्थीलाई उनले जाडोमा आवश्यक न्यानो लुगा (ट्रयाक सुट ) प्रदान गरेकी हुुन् ।
परिवारका सदस्यसहित विद्यालयमा पुगेर उनले सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले बताए । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यो सिजनमा मात्र ओलीले करिब १० लाख रुपैयाँबराबरको आर्थिक सहायताका गरेकी छन् । जिल्लाका शिवसताक्षी, कनकाई, भद्रपुर र अर्जुनधाराका सामुदायिक तथा फरक क्षमता भएका आश्रमका विद्यार्थीहरूलाई उनले सहयोग प्रदान गरेकी हुन् ।
ओलीले यसअघि शिवसताक्षीको त्रिभुवन मावि, अर्जुनधाराको अपाङ्ग बाल सरोकार, कनकाईको सुस्त मनस्थिति केन्द्र र पुकार अपाङ्ग संस्थालाई सहयोग गरेकी छन् ।
शिवसताक्षी ९ को चिल्लागढ पोखरीमा २५० जना क्षमताको सभाहलका लागि ओली परिवारले निर्माण कार्य थालनी गरेको छ ।
तुलसादेवी ओली रुद्र–गौरी–श्री–अम्बिका ओली प्रतिष्ठान नेपालका संस्थापक केन्द्रीय सदस्य हुन् । आफ्नो परिवारको आम्दानीको दशांश समाजसेवामा खर्च गर्ने उनको पूर्वयोजना हो ।
करिब दुई दशकदेखि समाजसेवामा खटिएकी ओली रुद्र–गौरी–श्री–अम्बिका ओली प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष, समाजसेवी यज्ञराज ओलीकी पत्नी हुन् । ओली दम्पतीका सबै छोरा बुहारी, छोरी ज्वाइँ डक्टर हुन् ।
तुलसादेवी एक्लैले सताक्षीधामको गोलोक गोवर्धन गौशालाले सञ्चालन गरेको श्री सताक्षी गुरुकुलमका लागि १ लाख ५१ हजारको अक्षय कोष स्थापना गरेकी छन् । उनी अक्षय कोषकी पहिलो दाता हुन् ।
उनले विपन्न वर्गका बालबालिकाको शैक्षिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले आफूले यस्ता कार्यक्रम सञ्चालन गरेको बताइन् ।