२०८१ पुष ५ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर सुरु


बिर्तामोड, पुस ५ । झापाको बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ ।

वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्गता समन्वय समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिविर उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले प्रदेश सरकार र करुणा फाउन्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट लाभ लिन सबैलाई आग्रह गरे ।

कम्तिमा ६ देखि ९ महिनासम्ममा अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिँदै उनले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हिलचियर वितरण गर्ने जानकारी समेत दिए । संग्रौलाले शिविरमा आउन नसक्नेहरुको लागि घरैमा पुगेर सेवा दिने पनि बताए ।

त्यस्तै, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङवाले यसअघिको समयमा अपाङ्गता परिचयपत्र मात्रै वितरण गरेको भए पनि यो शिविर प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे । आजदेखि सुरु भएको शिविर पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

तालिकाअनुसार भोलि पुस ६ गते १ नम्बर वडा कार्यालय, ७ गते वडा नम्बर २ को वीर अमरसिंह माध्यमिक विद्यालय, ८ गते ८ नम्बर वडा कार्यालय, ९ गते वडा नम्बर ९ को सहिद लक्ष्मी प्रावि, १० गते वडा नम्बर १० को वडा कार्यालय, ११ गते वडा नम्बर ४ को पशुपंछी तथा मत्स्य विकास शाखाको कार्यालय, १२ गते वडा नम्बर ५ को देवी माध्यमिक विद्यालय, १३ गते वडा नम्बर ७ को जनता प्रा.वि र १४ गते वडा नम्बर ३ को महेन्द्ररत्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुनेछ ।

सामाजिक विकास मन्त्रालय, बिर्तामोड नगरपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा सञ्चालित अपाङ्ग रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गतको यस शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणसँगै आवश्यकता पहिचान र परिचयपत्र वितरण गरिनेछ ।

आज ६३ जनाले सेवा लिएका छन् । जसमध्ये १३ जनाले नयाँ अपाङ्गताको परिचयपत्र प्राप्त गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer