बिर्तामोड, पुस ५ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।
दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।
उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदनबमोजिम पक्षमा रिट जारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।
सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।