२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

विदेशमा बर्सेनि ८६५ जनाले ज्यान गुमाउँदै नेपाली श्रमिक


बिर्तामोड, पुस ६ । प्रत्येक वर्ष औसतमा ८६५ जनाभन्दा बढी नेपाली कामदारको वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार पछिल्लो १६ वर्षमा १४ हजार २१३ नेपाली कामदारले कामको सिलसिलामा परदेशमा ज्यान गुमाइसकेका छन् । समीक्षा अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर तीन हजार ४४० श्रमिक स्वदेश फर्किएका छन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०७८/७९ सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु भएको देखिन्छ । तथ्यांकअनुसार विगत १६ वर्षमा ६५ लाख १३ हजार ४६२ नेपाली श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् ।

पछिल्लो १६ वर्षमा वैदेशिक रोजगारीमा गएका मध्ये ६० लाख ७४ हजार ९०९ पुरुष र चार लाख ३८ हजार ५४८ महिला छन् । गत आर्थिक वर्षमा मात्रै एक हजार मृतकको परिवारलाई ७ अर्ब रुपैयाँ प्रदान गरिएको बोर्डको तथ्यांक छ ।

यस्तो छ मृत्युको कारण

मृत्यु हुनेहरूमा अहिलेसम्म सबैभन्दा धेरै ‘कार्डियाक अरेस्ट’ (एक्कासी हुने हृदयाघात) को कारण देखिएको सचिवालयले जनाएको छ । जसमध्ये धेरैजसो निदाएको बेला नै मृत्यु हुने गरेको जनाइएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डक्टर द्वारिका उप्रेतीका अनुसार लगातार लामो समयको कठिन काम, धूमपान–मद्यपान सेवन, प्रतिकूल आहार, चर्को गर्मीमा काम गरेर रुम फर्किएपछि एसी लगाएर सुत्नु लगायतले हृदयाघातबाट मृत्यु हुनेको संख्या बढी देखिएको हो ।

जसमा कतिपय श्रमिकले मानसिक तनावका कारण आत्महत्या पनि गरेको देखिएको निर्देशक उप्रेती बताउँछन् । ऋणको पिरलो, कामको थकान, कार्यस्थलमा हुने शारीरिक तथा मानसिक दबाब, पारिवारिक चिन्ता लगायतका कारणले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकले आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।

त्यस्तै, कोही सडक दुर्घटनामा परेर अस्ताउँछन् त कोही कार्यस्थलमा मेसिनबाट हुने दुर्घटनाको कारण मृत्यु भएका छन् ।

Adv footer