बिर्तामोड, पुस ७ । कारोबार, सदस्य संख्या र पुँजीको हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोसको सदस्य एक लाख ८६ हजार पुगेका छन् ।
संस्थाका कार्यकारी प्रमुख मेहन्द्रकुमार गिरी र उपनिर्देशक दिनेशबहादुर निरौलाले सार्वजनिक गरेको संस्थाको २०८१ मंसिर महिनाको प्रगति विवरणअनुसार सहाराका शेयर सदस्य १ लाख ८६ हजार ३७१ जना पुगेका हुन् । संस्थामा छ महिनाअघि जेठ महिनासम्म एक लाख ७२ हजार १९२ जना शेयर सदस्य रहेका थिए ।
त्यस्तै, संस्थाको शेयर पुँजीमा पनि वृद्धि भएको छ । जेठसम्म १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ रहेको शेयर पुँजी मंसिरसम्म एक अर्ब ७० करोड सात लाख आठ हजार ४०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, १ अर्ब २४ करोड २ लाख रहेको जगेडा कोषमा दुई करोड ३४ ला रुपैयाँ वृद्धि भएको सार्वजनिक गरिएको प्रगति विवरणमा उल्लेख छ ।
१२ अर्ब ५७ करोड १६ लाख रहेको कुल बचत १३ अर्ब ३९ करोड ७३ पुगेको छ । १० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ रहेको लगानी रकम ११ अर्ब आठ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थागत पुँजीमा तीन करोड वृद्धि भएर १ अर्ब ३० करोड ३४ लाख पुगेको छ । विभिन्न कोषमा दोब्बर बढेर एक अर्ब १ अर्ब २३ करोड ४८ लाख गुगेको छ । जेठसम्म कोषमा ५२ करोड ४० लाख रहेको थियो ।
संस्थासँग ३३.६२ प्रतिशत तरलता रहेकोमा मंसिरसम्म घटेर २७ .२९ प्रतिशतमा झरेको छ । संस्थाबाट ७० हजार १३० जनाले कर्जा लिएकामा मंसिरमा ७० हजार ९९८ जनाले ऋण लिएका छन् ।
नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापा बिर्तामोडको सहारा नेपाल साकोस नेपालको सबैभन्दा ठुलो सहकारी संस्था हो । कुल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ ।
२०८१ जेठ मसान्तसम्म १६ अर्ब ४९ करोड ८९ लाख रुपैयाँबराबरको कुल सम्पत्ति रहेको संस्थामा मंसिरसम्म १७ अर्ब ४५ करोड ९२ लाख रुपैयाँबराबर पुगेको छ ।
संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण १५ महिनायता शून्य छ । संस्थाले २०८० भदौ महिनादेखि बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख गिरीले बताए ।
११ वटा जिल्ला र ८० वटा पालिकाको स्वीकृति पाएको सहारा नेपालले ६ वटा जिल्लाका ७० वटा पालिकाका ८१ वटा सेवा केन्द्र, ७ वटा अनुगमन कार्यालय, मुख्य कार्यालयसहित ८९ स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।